
कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा जहाँ अधिकांश नेपाली घर फर्किँदै छन्, त्यही बेला सुदूरपश्चिमका कैयौँ परिवार भने कामको खोजीमा भारततर्फ लागिरहेका छन्।
विगतमा यस समयमा भारतमा रोजगारी गर्ने नेपालीहरू गड्डाचौकी नाकाबाट घर फर्कने क्रम बढ्थ्यो। तर, यसपटक दृश्य उल्टो देखिएको छ। नाकाबाट स्वदेश फर्किनेभन्दा काम खोज्दै भारत पस्नेहरूको संख्या बढी भएको छ। विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारततर्फ गइरहेका छन्।
डोटीको जोरायल गाउँपालिका–२ का करण थापा परिवारसहित भारतको हिमाञ्चल प्रदेश जाँदै थिए। “साँझ बिहान छाक टार्नै मुस्किल छ, पैसा नभएर कसरी दशैँ मनाउने? पैसा भए तिहारमा फर्कन्छु,” उनले भने। उनका अनुसार विद्यालय बिदा भएकाले यसपटक परिवारका सबै सदस्य काममा जान लागेका हुन्।
त्यस्तै, डोटीको बाजिलेकका २५ जनाको परिवार समेत सिमला रोजगारीका लागि गएको छ। मीनादेवी थापाले स्वदेशमा काम नपाएपछि श्रीमान् र परिवारका अन्य सदस्यसहित स्याउ टिप्न भारत गएको बताइन्। “त्यहाँ कमाएको पैसाले तिहारमा घर फर्केर पर्व मनाउँछौँ,” उनले भनिन्।
बाजिलेककै बलबहादुर थापाले बाध्यताले दशैँ छाडेर भारततर्फ लागेको सुनाए। “यहाँ मजदुरी पाउने अवस्था छैन। पैसा नभई दशैँ चल्दैन, त्यसैले उतै गएर कमाएर तिहारमा फर्किने योजना बनाएका छौँ,” उनले प्रष्ट पारे।
कैलालीका कृष्ण सेरलाले भने विद्यालय बिदा सदुपयोग गर्न भारत जान लागेको बताए। उनका बुबाआमा पहिलेदेखि नै भारतमा रोजगारीमा छन्।
गरिबी र बेरोजगारीका कारण दशैँको मुखमा पनि सुदूरपश्चिमका सयौँ नेपाली भारत पस्ने क्रम रोकिएको छैन। भारत सुदूरपश्चिम र कर्णालीवासीहरूका लागि अझै पनि रोजगारीको प्रमुख गन्तव्य बनेको छ।





