
भोजपुर । सदरमुकाम नजिकै रहेको सुन्तले–बाघखोर क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ घुम्न आउनेले स्वादिला स्थानीय परिकार चाख्दै हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्ने अवसर पाउँछन् । प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक विविधताको अनुभव लिन सकिने भएकाले पर्यटकको चाप बढ्न थालेको छ ।
बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । उनका अनुसार सुन्तले–बाघखोर अहिले भोजपुर आउने धेरै यात्रुहरूको पहिलो रोजाइ बनेको छ । “यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउने गरेको छ,” उनले बताए ।
चिसो र स्वच्छ हावापानी, स्वादिलो स्थानीय भोजन र रमणीय दृश्यका कारण यो गन्तव्य आकर्षक बन्दै गएको छ । तर आवश्यक पूर्वाधार अभावका कारण ठूलो संख्यामा पर्यटक आउँदा व्यवस्थापनमा समस्या हुने गरेको तामाङको भनाइ छ ।
भोजपुर–दिङ्ला सडकमार्गसँगै पर्ने यस क्षेत्रमा सहज सडक पहुँच छ । शहरी कोलाहलबाट टाढा शान्त वातावरणमा घुम्न चाहनेका लागि यो आदर्श स्थल मानिन्छ । समुद्री सतहदेखि करिब २,४०० मिटर उचाइमा रहेको यो स्थानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमालका शृङ्खला, अरुण उपत्यका, साल्पासिलिछो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र चखेवाभञ्ज्याङलगायत क्षेत्र देख्न सकिन्छ ।
पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर र वनभोज स्थल निर्माण गरिएको छ । राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा स्थानीय परिकार, भेषभूषा र सांस्कृतिक विविधताले पनि आकर्षण थपेको छ । भोजपुर सदरमुकामबाट सुन्तले १० किलोमिटर र बाघखोर १२ किलोमिटर दूरीमा पर्छ ।





