
नेपालगञ्ज । बाँकेका विभिन्न सरकारी कार्यालयमा तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।
उनका अनुसार पाठक आगजनी तथा तोडफोडमा, जबकि टमाटा लुटपाटमा संलग्न रहेको खुलेको छ । केही दिनअघि जिल्ला प्रशासन र सुरक्षासम्बन्धी निकायहरूले सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने व्यक्तिहरूको तथ्य, प्रमाण र भिडियो उपलब्ध गराउन आग्रह गरेको सूचना जारी गरेका थिए ।
नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएका थिए ।





