शुक्लाफाँटा निकुञ्जमा सडक बिग्रँदा जङ्गल सफारी ठप्प |



कञ्चनपुर । वर्षाले बाटो बिगारेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गल सफारी अझै सञ्चालनमा आउन सकेको छैन । निकुञ्ज सफारी गत असार महिनादेखि नै बन्द छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार वर्षाका कारण सडक र पुल क्षतिग्रस्त भएकाले हालसम्म मर्मत सम्भव भएको छैन । “सडकमा खाल्डाखुल्डी छन्, घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ,” वाग्लेले बताए, “दसैँ र तिहारको बीचमा सफारी सञ्चालन गर्ने योजना छ ।”

निकुञ्ज कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा निकुञ्ज भ्रमण गर्ने तीन हजार तीन सय ७१ मध्ये एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक रहेका थिए ।

शुक्लाफाँटा दुर्लभ वन्यजन्तु र वनस्पतिको लागि प्रसिद्ध छ । यहाँ ५६ प्रजातिका घस्रने जनावर, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी पाइन्छन् ।

निकुञ्जमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, रतुवा, बँदेललगायतका वन्यजन्तु देख्न पाइन्छ । विश्वमै दुर्लभ मानिने सारस, खरमजुर, सिम तित्रा, राजधेस र लेसरजस्ता प्रजाति पनि यहाँ रहेका छन् ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज विशेषगरी बाह्रसिङ्गाका लागि चर्चित छ । हाल निकुञ्जमा दुई हजार तीन सय २३ भन्दा बढी बाह्रसिङ्गा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्