सुदूरपश्चिमका पहाडी जिल्लामा बूढी पोल्ने पर्व धुमधामसहित सम्पन्न |



बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व परम्परागत रीतिअनुसार मनाइएको छ । संस्कृतिविद् जयानन्द भट्टका अनुसार यो पर्व विजय उत्सवको प्रतीकका रूपमा मनाइन्छ, जसमा राक्षसी पुतनालाई दहन गर्ने परम्परा रहिआएको छ ।

किंवदन्तीअनुसार द्वापरयुगमा बालबालिकालाई विषाक्त दूध खुवाएर मार्ने राक्षसी पुतनालाई भगवान श्रीकृष्णले आफ्नै शक्तिबाट नाश गरेका थिए । त्यसपछि गोठालाहरूले उनको शव दहन गरेका थिए, र सोही विजयको खुसीयालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने चलन सुरु भएको मानिन्छ ।

भाद्र सङ्क्रान्ति र ओल्के सङ्क्रान्तिका दिन गाडिएको लिङ्गोमा क्रमशः हाँगा थप्दै जाने परम्परा छ, जसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । आज साँझ सोही थुप्रोमा बूढीको प्रतिमा राखी सामूहिक रूपमा आगो लगाइन्छ । घर–घरबाट निकालिएको राँको एकै पटक ल्याई ‘बूढी पोल्ने’ प्रथा अझै कायम छ ।

पुतनाको स्वरूपमा सिँगारिएको बाबियोलाई दिनभरि गोठमा सुकाएर साँझ दोबाटोमा लगेर जलाउने परम्परा रहेको छ । त्यहाँ जलाइएको खरानीलाई गाईलाई तिलक लगाइन्छ, जसले पशुचौपायामा रोग नलाग्ने धार्मिक विश्वास पाइन्छ ।

यस पर्वसँगै रातभर देउडा खेल्ने चलन पनि रहेको भए पनि पछिल्ला वर्षमा युवापुस्ताले त्यस्तो परम्परामा चासो नदिँदा यो प्रथा क्रमशः हराउँदै गएको स्थानीय गणेश विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्