सिद्धबाबा सुरुङमार्गको काम ६१% सम्पन्न



तानसेन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक काम हाल ६१ प्रतिशत सम्पन्न भएको छ। सुरुङ ‘ब्रेक थ्रु’ भएपछि काममा थप गति आएको आयोजना प्रमुख दूध अधिकारीले जानकारी दिए।

उनका अनुसार, टनेलको कुल लम्बाइ १,१२६ मिटरमध्ये १,०८९ मिटर सुरुङ निर्माण भइसकेको छ। भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको काम पूर्ण भइसकेको छ। साथै, सुरुङभित्रको पर्खाललाई कङ्क्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले ढाक्ने काम र इन्भर्टको काम पनि १,०८९ मिटरसम्म सकिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यस सुरुङमार्गको भौतिक प्रगति ६१.६ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ। उत्तर र दक्षिण पोर्टलको काम क्रमशः १९ मिटर र १८ मिटर बाँकी रहेको छ।

आयोजना प्रमुख अधिकारीले भने, “उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माण भइरहेको छ। पाँच–सात महिनाभित्र मुख्य टनेलमार्फत सवारीसाधन गुडाउन सकिने अवस्था हुनेछ।”

यस परियोजना अन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट सुरुङमार्गको निर्माण कार्य विसं २०७९ मा सुरु भएको हो। पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित चीनको स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा काम सुरु गरेको थियो।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक पहिरो झर्ने र सुक्खायाममा पनि धुले पहिरो खस्ने भएकाले मार्गलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्