दुई वर्षीय छोरो धानबारीमा लुकाएर ज्यान बचाए: कालिका नगरप्रमुख रेग्मी



चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका स्थानीय निकाय र जनप्रतिनिधिहरू निशानामा परेका घटनामा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी पनि प्रभावित भएका छन्। स्थानीय जनप्रतिनिधिहरूले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा गाउँ–टोलमा घुसपैठ भई सरकारी संरचना तोडफोड र आगजनी भएको बताउँछन्।

प्रमुख रेग्मीका अनुसार, आक्रोशित भीडले जनप्रतिनिधि र परिवारमाथि आक्रमण गर्ने प्रयास गर्दा आफूले पदबाट राजीनामा दिनुपर्ने परिस्थिति आएको थियो। उनले भने, “श्रीमती र छोरीलाई सुरक्षित घरमा राखेर, दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकाएर ज्यान बचाउन सफल भयौँ। त्यसपछि एक हुल मानिस घरमा प्रवेश गरी तोडफोडमा उत्रिए।”

रेग्मीले आफ्नो दुई वर्षीय छोरालाई केही समय धानबारीमा राखेर छिमेकीको घरमा सुरक्षित राखेको बताए। उनले थपे, “भीड अराजक र उदण्ड बनेको थियो। केही साथीहरूले मेरो घर जोगाउन प्रयास गरे। छोरी र श्रीमतीमाथि अपशब्द र छोरालाई धम्की दिइएको थियो। प्रहरी, सेना वा पार्टीसँग सम्पर्क गर्न नसकिँदा अत्यन्त कठिन परिस्थितिको सामना गर्नु पर्यो।”

घटनाको आरम्भमा वडा कार्यालयमा आक्रमण गर्ने, जनप्रतिनिधि मार्ने, काट्ने लगायतका ‘म्यासेज’ आएका थिए। रेग्मीले बताए, “परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो। केही समयभित्र नगरपालिका र वडा कार्यालयमा आक्रमण सुरु भयो। कसलाई सोधौँ, कससँग सम्पर्क गरौँ भन्ने अवस्था थिएन।”

भीडले हातमा खुँडा, खुकुरी, भाला बोकी त्रासको वातावरण सिर्जना गर्न खोजेको उनले बताए। त्यति बेला परिवारको ज्यान र घरको सुरक्षा सुनिश्चित गर्न पार्टी छोडेको फेसबुक स्ट्याटस लेखेको तर पछि परिस्थिती स्थिर भएपछि पार्टीमै फर्किएको बताए।

आन्दोलनका क्रममा उनका घर र नगरपालिकामा अपूरणीय क्षति पुगेको छ। घरमा झन्डै रु ६ लाख ५० हजार बराबरको क्षति भएको छ। नगरपालिकाको वडा नं १–७ को कार्यालय जलेर नष्ट भएका छन् भने वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ। नगर सभा हल पूर्ण रूपमा नष्ट भएको छ। नयाँ निर्माणाधीन भवन, तीन वटा सवारीसाधन, दुई वटा मोटरसाइकल, डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसीबी समेत क्षतिग्रस्त भएका छन्। प्राथमिक आकलन अनुसार लगभग रु ८० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रमुख रेग्मीले भने, “परिस्थिति अत्यन्त कठिन थियो। नगरवासीको सहयोग र सहकार्यमा अब नगरपालिकालाई पुनर्निर्माण गर्दै सबै सेवा पुर्‍याउने प्रतिबद्धता छ।”

कालिका नगरपालिका जिल्लाका उत्कृष्ट कार्य सम्पन्न गर्ने स्थानीय तहमध्ये एक मानिँदै आएको छ। जेनजी प्रदर्शनले ल्याएको क्षति र पीडाबाट पाठ सिक्दै, नगरप्रमुख रेग्मी पुनर्निर्माण र सेवा प्रवाहमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्