
काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको छ। नेपालीहरूको महान् पर्व विजयादशमी र तिहार नजिकिँदै गर्दा बसपार्कमा अत्यधिक भीड देखिएको हो।
गत भदौ २३–२४ मा ‘जेनजी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बन्द भएपछि विद्यार्थीहरू गृहजिल्ला फर्कन थालेका थिए।
नयाँ बसपार्कमा सञ्चालन भइरहेका लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हाल यात्रुको भीड उल्लेख्य रूपमा बढेको छ। उनले भने, “यातायात व्यवस्था विभागले मङ्गलबार बसेको सरोकारवालाहरूको बैठकमा यस वर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ।”
मल्लका अनुसार पहिले दैनिक ४–५ हजार यात्रु बसपार्कबाट यात्रा गर्ने गरेकामा अहिले संख्या १२–१५ हजार पुगिसकेको छ। ‘जेनजी’ प्रदर्शनपछि अवरुद्ध सार्वजनिक यातायात सञ्चालनमा आएसँगै उपत्यका छोडेर गृहजिल्ला जाने यात्रुको संख्या ६५ हजारभन्दा बढी पुगेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि नयाँ बसपार्कमा यात्रुको भीड बढ्न थालेकोले यस वर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्या केही घट्न सक्ने बताएका छन्।
हाल नयाँ बसपार्कबाट देशका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
सरकारले दसैँ अवधिमा सार्वजनिक यातायात व्यवस्थित गर्न असोज ६ (घटस्थापना) देखि असोज २२ सम्म लागू हुने गरी रुट परमिट खुला गरेको छ।





