
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो दुई महिनामा चालुतर्फ ९.६७ प्रतिशत, पुँजीगततर्फ १.५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत खर्च भएको छ ।
यस वर्ष ल्याइएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये भदौ मसान्तसम्म १ खर्ब ८० अर्ब १७ करोड ४ लाख खर्च भएको छ । चालुतर्फ विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख, पुँजीगत शीर्षकअन्तर्गत विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाखमध्ये ६ अर्ब ३५ करोड ३३ लाख र वित्तीय व्यवस्थामा विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ ।
राजस्व संकलनतर्फ सरकारले सोही अवधिमा वार्षिक लक्ष्यको १०.४३ प्रतिशत मात्र असुली गरेको छ । १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाखको लक्ष्य विपरीत १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख राजस्व उठेको छ ।
कर राजस्वतर्फ वार्षिक लक्ष्य १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाखमध्ये ११.३५ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब ४० करोड १३ लाख संकलन भएको छ भने गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाखको लक्ष्य विपरीत ४.६२ प्रतिशत अर्थात् ७ अर्ब १३ करोड २१ लाख मात्र उठेको छ ।
त्यस्तै, चालु आवमा लक्षित ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदानमध्ये हालसम्म २.३८ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ३७ लाख मात्र प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।





