
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन तत्काल हटाएर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उनले जलेका सवारीसाधन यत्रतत्र छरिएर बसेका कारण सिंहदरबार परिसर कुरुप देखिएको उल्लेख गर्दै छिटोभन्दा छिटो अन्यत्र सारेर व्यवस्थापन गर्न आग्रह गरेका हुन् । “कार्यालयलाई थोत्रो देखाएर राख्नु हुँदैन, बाहिरी भागलाई सुन्दर बनाउनुपर्छ,” मन्त्री घिसिङले भने ।
यस क्रममा उनले सामान्य क्षति पुगेका भवनमा रङरोगन गर्ने, आगलागीबाट नोक्सानी भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन शीघ्र गर्ने गरी सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यसैगरी, ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण अघि बढाइने मन्त्री घिसिङले स्पष्ट पारेका छन् ।
सहरी विकास मन्त्रालयका अनुसार मातहतका संरचनामा भएको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु भइसकेको छ ।





