नेपाली केराले चाडपर्व धान्ने, आयात नगर्न व्यवसायीको अपिल |



काठमाडौँ । नेपालमा अहिले उत्पादित केराले आउँदो दसैँ, तिहार र छठ पर्वका माग सहजै धान्ने भएकाले केरा आयात नगर्न सार्वजनिक अपिल गरिएको छ । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले देशभर पर्याप्त मात्रामा उत्पादन भएकाले चाडपर्वका लागि विदेशी केरा आयात आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्राचार गर्दै हाल उत्साहजनक उत्पादन भएको अवस्थामा पनि भारतलगायतबाट निरन्तर आयात भइरहेकाले त्यसले नेपाली किसान, अर्थतन्त्र र रोजगारमा नकारात्मक असर पारिरहेको उल्लेख गरेको छ । अध्यक्ष पन्तद्वारा जारी अनुरोधपत्रमा विदेशी केरा आयातका कारण नेपाली व्यावसायिक किसान विस्थापित हुने खतरा बढेको र किसानहरू आन्दोलनमा जान सक्ने चेतावनी दिइएको छ ।

अनुरोधपत्रमा भनिएको छ, ‘देशको विषम परिस्थिति मध्यनजर गर्दै असोज ६ गतेपछि कुनै व्यापारीले भारतबाट केरा आयात नगर्न वा नगराउन आग्रह गर्दछौँ । यदि जबर्जस्ती आयात गरिएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी महासङ्घले नलिनेछ ।’

यस विषयमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका केरा उत्पादक सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल केरा आयात रोकिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्