गुल्मीमा लगातार वर्षाका कारण तीन मुख्य सडक अवरुद्ध |



गुल्मी । तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मीका तीनवटा प्रमुख सडक यातायातका लागि पूर्ण रूपमा अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोरको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा गएको पहिरोका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो खस्दा र रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरेखोलामा पानीको बहाव बढ्दा आज बिहानदेखि दुवै सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

तीनवटै मुख्य सडक अबरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन सञ्चालनमा आउन नसकेका छन् । लगातारको वर्षा जारी रहँदा सडक खुलाउने कार्यमा कठिनाइ भएको र आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि तत्काल पहिरो पन्छाउन नसकिएको सारुले बताए । सडक बन्द भएपछि पर्वत, बागलुङ, रिडी हुँदै तम्घास, पाल्पा र बुटवल जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले लगातार वर्षाका कारण विपद्‌जन्य जोखिम बढ्न सक्ने भन्दै पहिरो प्रभावित र खोलातटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्