तुलसीपुर उपमहानगरपालिकामा टेन्टमार्फत सेवा सुरु |



दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षति पुगेको तुलसीपुर उपमहानगरपालिकाले मंगलबारदेखि टेन्टमार्फत अत्यावश्यक सेवा सञ्चालन गरेको छ । नगरप्रमुख टीकाराम खड्काका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त त्रिपाल टेन्टमार्फत क्यान्सर, मिर्गौला रोगी लगायतका बिरामीलाई उपचार सिफारिस गर्ने र तत्काल आवश्यक कामलाई प्राथमिकता दिइएको छ ।

आगजनीमा क्षतिग्रस्त दुई वटै भवन सरसफाइ गरिएको भए पनि प्राविधिक परीक्षण भइरहेको र तत्काल प्रयोग गर्न नसकिने खड्काले जानकारी दिए । “यदि मूल्याङ्कनले प्रयोग योग्य ठहराएमा मर्मत गरेर कार्यालय सञ्चालन गर्ने योजना छ,” नगरप्रमुख खड्काले भने ।

पालिकाले निर्माण गरेको नौतले व्यापारिक भवनमा भने केवल सिसा फुटेको भए पनि सो भवन ठेकेदारले अझै हस्तान्तरण नगरेको खड्काले बताए । निर्माण सम्झौताभन्दा पाँच महिना पहिले भवन निर्माण पूरा भएकाले ठेकेदारले ‘बोनस’ दाबी गरेको र त्यसपछि मात्रै भवन हस्तान्तरण हुने उनको भनाइ छ । हस्तान्तरण भए लगत्तै त्यहाँबाट अस्थायी सेवा दिन सकिने बताइएको छ ।

आगजनीका कारण पालिकाका दुई भवनसँगै दमकलसहित २० भन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । फिल्डमा रहेका केही सवारीसाधन मात्र सुरक्षित रहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्