
बाँके । राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनस्थित पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्कर गुप्ताका अनुसार घटनास्थल वरिपरिको अवलोकन गर्दा चितुवाको पाइला भेटिएको र क्यामेरा जडान गरी हेर्दा भाले चितुवा हिँडडुल गरेको पुष्टि भएको छ ।
सो घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । चितुवालाई नियन्त्रणमा लिन प्राविधिक टोली खटाइएको गुप्ताले जानकारी दिए । उनका अनुसार मृतक थारुको शवको पोष्टमार्टमपछि वडाको सिफारिसमा परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने छ ।





