आन्तरिक राजस्व कार्यालयले पार्किङस्थलबाट सेवा सुरु |



रुपन्देही । भदौ २४ गते भएको तोडफोड र आगजनीले कार्यालय भवन क्षतिग्रस्त भएपछि रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नै पार्किङस्थलमा अस्थायी रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार आइतबारदेखि टेन्टमार्फत करदाता सेवाको थालनी गरिएको हो । उनले भने, “हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ । धेरै सेवा अनलाइनमार्फत दिइरहेका छौँ भने पार्किङमै ल्यापटप र प्रिन्टर प्रयोग गरेर करदातालाई आवश्यक सेवा दिन थालेका छौँ ।”

उनका अनुसार न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीको सहायतामा इन्टरनेट र बिजुली व्यवस्थापन गरी सेवा दिइँदैछ । तर, सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले फिलहाल केही अत्यावश्यक सेवामात्र प्रदान गरिएको छ ।

आगजनीका कारण कार्यालयको मुख्य भवनका सात कोठा पूर्णरूपमा जलेर नष्ट भएका छन् । त्यससँगै कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, दराजलगायत उपकरण तथा केही करदाताका फाइलसमेत जलेको पोख्रेलले जानकारी दिए । साथै कार्यालय परिसरमा रहेका केही सवारीसाधन र गार्डरुमसमेत क्षतिग्रस्त भएको उल्लेख गरे ।

सेवाग्राही सरोज साहले कार्यालयले विपरीत परिस्थितिमा पनि सेवा सञ्चालन गरेकोप्रति खुसी व्यक्त गर्दै उपलब्ध सेवाप्रति सन्तुष्टि जनाए ।

यसैबीच, रुपन्देहीमा जारी निषेधाज्ञा र कफ्र्यू हटाइएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार भदौ २८ गतेदेखि जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएकाले निषेधाज्ञा र कफ्र्यू हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम राख्न, सार्वजनिक सेवा र शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सहज बनाउन तथा बजार व्यवस्थालाई सक्रिय राख्न सरोकारवाला निकायसँग सहकार्य गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्