
काठमाडौं । जापानको आइचि र नागोयामा सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने २०औं ग्रीष्मकालीन एसियाली खेलकुदमा नेपालले ३२ खेलमार्फत ४३४ खेलाडी सहभागिता गर्ने भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अनुसार, आयोजक कमिटीले तोकेको तालिका अनुसार सन् २०२५ जुन ३० भित्रमा ३० खेलमा सहभागिता दर्ता गरिएको थियो । तर खेलाडी संख्याको अन्तिम दर्ता सेप्टेम्बर १६ भित्र गर्नुपर्ने समयसीमा भित्र विभिन्न राष्ट्रिय संघ र मन्त्रालयसँग समन्वय गरी विवरण पठाइएको कमिटीले जनाएको छ ।
दर्ता प्रक्रियामा प्रारम्भिक ३० खेल बाहेक तेक्वान्डो र फुटबललाई पनि थपिएको छ । नेपाल एथलेटिक्स संघले समयमै जानकारी नपठाए पनि विगतको सहभागिता हेरी पुरुष र महिला गरी दुई खेलाडीलाई म्याराथनतर्फ स्वतः दर्ता गरिएको कमिटीले स्पष्ट पारेको छ ।
यसरी नेपालबाट ३२ खेलमार्फत २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ खेलाडीको दर्ता सम्पन्न भएको छ । आयोजक कमिटीमा यो सूची आधिकारिक रूपमा पठाइएको ओलम्पिक कमिटीले जनाएको छ ।





