सात जना फरार कैदी झापामा पक्राउ |



झापा । ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट फरार भएका सात जना कैदी झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला पक्राउ परेका हुन् ।

सुन्धारा कारागारबाट फरार भएकी गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र सोही उमेरकी एकसरा खातुन सरकारले जारी गरेको सूचनापछि आफैं प्रहरीसमक्ष हाजिर भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरमै लुकेको अवस्थामा पक्राउ गरिएको जानकारी सूचना अधिकारी श्रेष्ठले दिए ।

नेपालबाट भागेर भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोरलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर केचनास्थित इलाका प्रहरी कार्यालयमा बुझाएको हो । उनी भारतीय नागरिक भएको खुलाइएको छ ।

यसैगरी, झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई उनका परिवारजनले प्रहरीसमक्ष बुझाइदिएका छन् । बाँकी दुई जना सुन्धारा कारागारबाट फरार कैदीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्