‘भोजपुरे खुकुरी’ उत्पादनमा संकट : दक्ष कालीगढ अभाव |



भोजपुर । परम्परागत सीपमा आधारित ‘भोजपुरे खुकुरी’ उत्पादन पछिल्ला वर्षमा संकटमा परेको छ । नयाँ पुस्ताले कालीगढ पेसाप्रति चासो नदेखाउँदा दक्ष जनशक्तिको अभाव भएको र बजारको बढ्दो माग धान्न नसकिने अवस्था सिर्जना भएको व्यवसायीहरूको गुनासो छ ।

व्यावसायीहरूका अनुसार भोजपुरे खुकुरीको माग स्थानीय बजारमै सीमित छैन, अन्य जिल्ला हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । तर, दक्ष कालीगढ घट्दै जाँदा मागअनुसार आपूर्ति गर्न सकिएको छैन । स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माले भने, “देश–विदेशबाट माग बढ्दो क्रममा छ, तर गाउँघरमा दक्ष जनशक्ति नहुँदा उत्पादन घटेको छ । पुस्तान्तरण नभएकाले पेसा नै संकटमा परेको छ ।”

बजारमा मुख्यत: भोजपुरे, सिरुपाते, चित्लाङ्गे र कोथीमोदा खुकुरीको बढी माग रहेको छ । उत्पादन हुने खुकुरीको मूल्य आकारअनुसार न्यूनतम रु १,००० देखि अधिकतम रु २०,००० सम्म पर्ने व्यवसायी दिनेश गजमेरले जानकारी दिए । बाहिरका जिल्लाबाट सयौँको संख्यामा माग आउँदा पनि ठूलो मात्रामा माग भए धान्न कठिनाइ हुने उनको भनाइ छ ।

गजमेरका अनुसार विगतमा गाउँघरमै धेरै कालीगढ सक्रिय भए पनि हाल व्यावसायिक रूपमा काम गर्नेहरूको सङ्ख्या तीव्र रूपमा घटेको छ । यसमा बढी मेहनत लाग्ने, कच्चा पदार्थको अभाव हुने र नयाँ पुस्तामा रुचि नहुनेजस्ता कारण प्रमुख भएको बताए ।

यस्तै, रोजगारीको खोजीमा विदेशिने लहरले गाउँघरमा रहेका आरन उद्योग बन्द हुँदा खुकुरी मात्र नभई खेतीपातीका लागि आवश्यक कृषि औजार उत्पादनमा समेत कमी आएको छ । यसले स्थानीय जनजीवनमा थप समस्या निम्त्याइरहेको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्