श्रद्धाञ्जली कार्यक्रममार्फत क्रिकेटर सुलभलाई सम्झना



काठमाडौं, भदौ ३१ ।
‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठलाई मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चले संयुक्त रूपमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा आयोजना गरेको कार्यक्रममा खेलकर्मी, पदाधिकारी र सञ्चारकर्मीहरूले सुलभलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलगायतको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो अवसरमा स्व. सुलभसहित आन्दोलनका क्रममा शहीद भएका सम्पूर्णको सम्झनामा मौन धारण गरियो । साथै, आन्दोलनमा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्