बेनी–जोमसोम सडक पुनः सञ्चालनमा |



म्याग्दी । पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण आइतबार बिहानदेखि यातायात ठप्प भएको थियो ।

घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर ठूला ढुङ्गा फुटाई डोजरमार्फत पहिरो पन्छाइ गए राति करिब १० बजे सडक सञ्चालनमा ल्याइएको हो ।

“सडक आयोजनाका प्राविधिक, नेपाली सेना र सुरक्षाकर्मीले रातिसम्म निरन्तर काम गरेर सडक खुलाएका हौँ,” उनले बताए, “सडक खुलेसँगै घाँसा र काभ्रेतर्फ रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान ल्याउने कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए । त्यस्तै, सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न आएका तीर्थयात्री, स्थानीय र पर्यटक पनि बाटो खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका बन्द भएपछि दसैँका लागि आवश्यक सामग्री कोरलानाकाबाट ल्याउन सुरु गरिएकाले हाल बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्