बीमा रकम दुरुपयोगमा संलग्न तीन कर्मचारी बर्खास्त



विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि उनीहरूलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

छानबिन अनुसार उनीहरू औषधि कम आपूर्ति गरी बढी रकम कटाउने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर बीमाबाट भुक्तानी गर्ने, बिरामीको नाममा अनावश्यक रूपमा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न थिए ।

यो घटनाबारे मोरङका एक क्यान्सरपीडित बिरामीको उजुरीपछि अनियमितता बाहिर आएको हो । चिकित्सकले सात दिनका लागि औषधि लेखिदिए पनि बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि उनले अस्पताल प्रशासनमा लिखित उजुरी दिएका थिए । त्यसपछि छानबिन समिति गठन गरी अनुसन्धान गर्दा अनियमितता पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले जानकारी दिइन् ।

उनका अनुसार, अघिपछि काटिएका बिलसमेत परीक्षण गर्दा बीमा रकम दुरुपयोग पुष्टि भएपछि ती कर्मचारीलाई तत्काल बर्खास्त गरिएको हो । यद्यपि प्रशासनले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

कोशी अस्पतालमा दैनिक झण्डै एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्, जसमा आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुन्छन् । आर्थिक वर्ष २०८१/८२ मा मात्र अस्पतालमा आएका तीन लाख १७ हजार ७१८ बिरामीमध्ये एक लाख २३ हजार ९८३ जना बीमामार्फत सेवा लिएका थिए ।

अस्पतालका चिकित्सकहरूका अनुसार उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग, मस्तिष्कसम्बन्धी समस्या, हाडजोर्नी, स्त्री तथा प्रसूति, नाक कान घाँटी, स्नायु र छालासम्बन्धी बिरामीबीच बीमाको प्रयोग बढ्दो क्रममा छ । स्वास्थ्य सरोकारवालाहरूले बढ्दो बीमित बिरामी र दीर्घरोगीहरूको संख्या हेर्दा औषधि आपूर्ति र बिलिङ प्रणालीलाई अझ पारदर्शी र सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्