
कैलाली । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रभावित संरचनाको यकिन विवरण सङ्कलन सुरु गरिएको छ । स्थिति क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले क्षतिग्रस्त सरकारी तथा स्थानीय निकायका कार्यालय, सवारीसाधन र अन्य संरचनाको तथ्याङ्क संकलन थालेको हो ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । सो क्रममा करिब १०० वटा चार पाङ्ग्रे गाडी, ५४३ वटा मोटरसाइकल, ६ वटा तीन पाङ्ग्रे र १५ वटा साइकलमा समेत आगजनी भएको छ ।
सबैभन्दा बढी क्षति प्रदेश राजधानी धनगढीमा भएको छ । यहाँ संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालय, वडा कार्यालय र विषयगत निकायका भवनमा ठूलो क्षति पुगेको जोशीले जानकारी दिए । प्रभावित संरचनामध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायतका भवनमा आगजनी भएको छ ।
यस्तै, आगजनीले नष्ट भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयको पनि प्रहरीले मुचुल्का संकलन गरिसकेको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीका अनुसार सचिवालय र प्रशासनिक भवन जलेर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । उनले सरसफाइपछि अत्यावश्यक प्रशासनिक काम वैकल्पिक उपायमार्फत अघि बढाइने बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतका मन्त्रालयहरूको क्षतिको विवरण संकलनपश्चात् सरसफाइ गरी वैकल्पिक कार्यालय व्यवस्थापनमार्फत प्रशासनिक काम निरन्तर गर्ने तयारी भइरहेको छ ।





