
काभ्रेपलाञ्चोक । मनसुनका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाउँदै आएको बीपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्य हुँदै गएको र दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक निरन्तर सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले यात्रु सहजताका लागि स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार सतर्कता अपनाइने जनाएको छ ।
गत असारको पहिलो सातादेखि बाढीपहिरोको उच्च जोखिमका कारण धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म राति १२ घण्टासम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक जारी गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थानमा जोखिम भएकाले यातायात रोकिएको भए पनि असोज १ गतेदेखि राजमार्ग पूर्ण रूपमा खोल्ने निर्णय भएको हो । यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिहरूको समन्वयमा असार ७ गतेदेखि राति ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म, साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गको धुलिखेल–नेपालथोक खण्डमा व्यापक क्षति पुर्याएपछि अस्थायी रूपमा सवारी सञ्चालन गरिएको थियो । हाल क्षतिग्रस्त भागलाई चार खण्डमा विभाजन गरी स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रियामा काम भइरहेको कार्यालयले जनाएको छ ।
पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण बीपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।





