पूर्वीनाकास्थित मेची भन्सारबाट आयात–निर्यात सेवा पुनः सुरु |



झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले सोमबारदेखि पुनः आयात–निर्यात सेवा सञ्चालन गरेको छ । भदौ २४ गते आन्दोलनकारीद्वारा कार्यालयमा तोडफोड र आगजनी भएपछि भन्सारको सम्पूर्ण गतिविधि अवरुद्ध भएको थियो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार नयाँ कम्प्युटर, ल्यापटप, फर्निचर लगायत आवश्यक सामग्री खरिद गरी सेवा पुनः सुरु गरिएको हो । उनले भने, “भौतिक संरचना र सम्पूर्ण सामान जलेर नष्ट भएका थिए । अहिले दाताहरूको सहयोग र नयाँ खरिदमार्फत पुनः सञ्चालन गर्न सफल भएका छौँ ।”

यसअघि आइतबार मेची उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भन्सार प्रमुख हरिहर पौडेललाई भेटी सेवा छिट्टै सुरु गर्न आग्रह गरेको थियो । सङ्घले विज्ञप्ति जारी गर्दै चाडपर्व नजिकिएकाले उद्योगी तथा व्यवसायीहरूलाई पुरानै लयमा फर्किएर व्यवसाय सञ्चालन गर्न अपिलसमेत गरेको छ ।

त्यस्तै, भद्रपुर भन्सार कार्यालयले भने आइतबारदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा तोडफोड, लुटपाट र आगजनी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्