
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार यही भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिमा एक हजार ५७२ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ७०५ जना पक्राउ परेका हुन् भने बाँकी ८६७ जनाको खोजी कार्य जारी रहेको छ ।
उनका अनुसार भदौ २४ गते राति १०० भन्दा बढी प्रदर्शनकारीले कारागार प्रवेश गरी तोडफोड सुरु गरेपछि कैदीबन्दीले भाग्ने मौका पाएका थिए । त्यतिबेला बाहिरबाट युवाको दबाब र भित्रबाट कैदीले आगो लगाउने धम्की दिएपछि थप क्षति हुन नदिन प्रवेशद्वार खुकुलो पारिएको बताइएको छ ।
कारागारका दुई ब्लकमध्ये २२७ जना बाहेकका सबै १,५७२ जना कैदीबन्दी भागेका थिए । तीमध्ये भारतीयसहित ६५ जना विदेशी कैदीसमेत रहेको र सबै विदेशी कैदी फरार भएको प्रहरीले जनाएको छ ।





