पहिलो महिनामा १ खर्ब १९ अर्ब व्यापार घाटा



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको कूल व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो घाटा अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिमा व्यापार घाटामा ०.४ प्रतिशतले मात्र वृद्धि भएको थियो । चालु आवको पहिलो महिनामा (साउन) कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर रु १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने आयात ०.६ प्रतिशतले घटेको थियो ।

मुलुकअनुसार भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले आयात वृद्धि भएको छ । वस्तुगत हिसाबले भटमासको कच्चा तेल, सवारीसाधन तथा पार्ट्स, चामल–धान, कोइला र रासायनिक मलको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, मेसिनरी तथा तेलहनको आयात घटेको छ ।

निर्याततर्फ यस अवधिमा उल्लेख्य वृद्धि भएको छ । कूल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो । गन्तव्यअनुसार भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फ ६५.२ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची र जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाको निर्यात घटेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो । भारततर्फको परिवर्त्य विदेशी मुद्रामा गरिएको आयात भने रु १३ अर्ब ४३ करोड बराबरको भएको छ, जुन अघिल्लो वर्षको रु १३ अर्ब ९८ करोडभन्दा अलिकति कम हो ।

प्रतिक्रिया दिनुहोस्