
बैतडी । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनपछि जिल्ला कारागार बैतडीमा आगजनी र तोडफोड हुँदा फरार भएका कैदीमध्ये ८४ प्रतिशत पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार संयुक्त सुरक्षा निकायको सक्रियतामा हालसम्म ६२ मध्ये ५२ जना फरार कैदीलाई पक्राउ गरिएको छ । “जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरी अप्रेसन सञ्चालन गरेका छौँ,” उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र ४ जनालाई भारतको पिथौरागढ जिल्लामा भारतीय सीमासुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएको हो ।
प्रहरी नायब उपरीक्षक दीपककुमार रायले फरार कैदी लु्क्न सक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको उल्लेख गर्दै भारतीय प्रहरी र स्थानीय पालिकासँग पनि समन्वय गरिएको जानकारी दिए । संयुक्त अप्रेसनमार्फत बैतडीमा मात्रै नभई अन्य जिल्लाबाट भागेका ११ कैदी पनि पक्राउ गरिएको उनले बताए । तीमध्ये डडेल्धुराबाट ६, डोटीबाट ४ र दार्चुलाबाट १ जना रहेका छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार हालसम्म ५२ जना पक्राउ परे पनि बाँकी १० जनाको खोजी कार्य जारी छ । कारागार कार्यालय प्रमुख धारा भण्डारीले बाँकी कैदीलाई आत्मसमर्पणका लागि पुनः सूचना जारी गर्ने तयारी भइरहेको बताए । “नआए कानुनअनुसार थप कारबाही अगाडि बढाइनेछ,” उनले चेतावनी दिए ।





