तुलसीपुरमा युवाले थाले फोहर उठाउने अभियान



दाङ । तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएपछि फोहर संकलन ठप्प हुँदा युवाहरू स्वयंसेवी रूपमा अभियानमा उत्रिएका छन् ।

तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा फैलिँदै गएको दुर्गन्ध रोक्नका लागि फोहर उठाउने अभियान सुरु गरेका हुन् । “उपमहानगरको गाडी जलेपछि फोहर उठ्न सकेको छैन । बजारमै दुर्गन्ध फैलिएको देखेपछि हामीले यो अभियान थालेका हौँ,” वलीले बताए ।

उनका अनुसार, उपमहानगरले नियमित संकलन पुनः सुरु नगरेसम्म उनीहरूले यो अभियानलाई निरन्तरता दिनेछन् । यस कार्यलाई सहज बनाउन दुई कर्मचारी समेत राखिएको र नगरपालिकासँग समन्वय गरेर फोहर संकलन भइरहेको उनले जानकारी दिए ।

समाजलाई अप्ठ्यारो पर्दा युवाहरूले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनीहरूले ट्याक्टर भाडामा लिएर भए पनि अभियान अगाडि बढाएको बताए । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरको फोहर फाल्ने गाडी जलेपछि एक सातादेखि तुलसीपुर बजारमा फोहर थुप्रिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्