आदिवासी जनजातिको योगदानलाई बिर्सन नहुने : उपसभापति गुरुङ



पोखरा, भदौ २१ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले नेपालको हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

शनिबार पोखराको फिर्के तमु समाजमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, कास्की क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले आदिवासी जनजातिको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन थालेको बताउँदै सचेत रहन आग्रह गरे ।

सन् २०१९ सालमा इलामको सात खाल्देमा तत्कालीन शाही सेनाले सात जनालाई जिउँदै पुरेको उदाहरण दिँदै गुरुङले तीमध्ये एक गुरुङ र छ जना राई रहेको स्मरण गराए । उनले यस्ता घटनाले आदिवासी जनजातिको ऐतिहासिक योगदानलाई स्पष्ट पार्ने उल्लेख गरे ।

पूर्वमन्त्री गुरुङले गणेशमान सिंहलाई सधैं लौ पुरुषका रूपमा मात्रै प्रस्तुत गरिएको तर उहाँ पनि जनजाति भएको पक्षलाई स्मरण गर्नुपर्ने बताए । अधिकार मागेर मात्रै नपाइने भन्दै उनले अधिकार खोस्न एकताबद्ध र संगठित हुनुपर्नेमा जोड दिए ।

“जनताको मर्म बुझ्ने मात्र सच्चा नेता हुन्छ, जनताको मर्म बुझ्न कर्म गर्नुपर्छ,” भन्दै उनले नेता बन्नका लागि कर्म आवश्यक रहेको धारणा राखे । पछिल्लो समय धेरै बोल्ने प्रवृत्तिले मात्र नेताको हैसियत पाउने सोचाइ हावी भएको भन्दै त्याग र योगदानको इतिहास नबिर्सन आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य महासंघका वरिष्ठ उपाध्यक्ष मीनबहादुर गुरुङले राखे भने अध्यक्ष आशबहादुर गुरुङले कार्यक्रमको उद्देश्य प्रष्ट पारे । उपाध्यक्ष भीमकुमारी गुरुङले संस्थाको प्रतिवेदन प्रस्तुत गरिन् ।

सो अवसरमा महासंघ गण्डकी प्रदेश अध्यक्ष जितबहादुर गुरुङ, केन्द्रीय सदस्य कृष्णकुमार गुरुङ, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, कांग्रेस गण्डकी प्रदेश सदस्य सीता गुरुङ, प्रदेश सांसद सरस्वती गुरुङ, कांग्रेस कास्की जिल्ला उपसभापति युवराज कुवर, केन्द्रीय सदस्य सरदा पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व महासंघ कास्की क्षेत्र नं. ३ का अध्यक्ष राजु घलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्