
कञ्चनपुर जिल्ला मानव बेचबिखन र ओसारपसारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको रूपमा रहेको छ।
जिल्लाको प्रमुख नाका गड्डाचौकी भए तापनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू पनि छन्। यी अवैध नाकाहरू मानव बेचबिखनको मुख्य चुनौती बनेका छन् भने माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन्।
भट्टका अनुसार पछिल्लो समय सीमाको दुरुपयोग गरी बालबालिका, किशोरी र महिलाहरू भारत, खाडी मुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटना बढेका छन्। यसका मुख्य कारणमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू रहेका छन्।
खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ, र कतिपय अवस्थामा आफन्त वा परिवारको संलग्नता यस समस्या बढाउने कारक हुन्।
भट्टले भनिन्, “मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो। यसलाई रोक्न सचेतना, समन्वय र सहकार्य आवश्यक छ।” उनले मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको र वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनको नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’ घटना बढेको बताइन्।
अन्तर्राष्ट्रिय अपराध सञ्जाल सक्रिय रहेको र पीडितलाई अंग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने घटनाहरू पाइएको छ।
सामाजिक कार्यकर्ता हरिदत्त भट्टका अनुसार मानव बेचबिखनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा तथा मानव अधिकारमा गम्भीर चुनौती सिर्जना गरेको छ। सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ।
माइती नेपाल कञ्चनपुरका तथ्याङ्कअनुसार १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्म भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरिएको छ। यसमा गड्डाचौकी नाकामा १२७, चारलेन पुलमा ४८, र झोलुङ्गे पुलमा ३८ जनालाई रोकिएको थियो। रोकथाम गरिएका व्यक्तिहरूमध्ये १२९ जना बालबालिका र १५७ जना महिला छन्।
सीमानाकामा रोकिएका मध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना छन् भने कञ्चनपुरका १३६ जना छन्। त्यस्तै अवधिमा भारतका विभिन्न स्थानबाट आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ।
त्यसै अवधिमा माइती नेपालले १२,८३२ सवारीसाधन चेकजाँच गरेको र ४६,०५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइ–सराइ सम्बन्धी परामर्श दिएको छ। दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ३५ जनालाई प्रत्यक्ष परामर्श दिई घर फिर्ता पठाइएको छ।
खोजतलासका लागि १८० निवेदन दर्ता भएका छन्, जसमा ७३ जनालाई भेटिएको छ। घरेलु हिंसासम्बन्धी २२ उजुरीमध्ये १८ समाधान भएका छन् भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता गरिएको छ।
मानव बेचबिखन रोकथामका लागि माइती नेपालले घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी प्रशिक्षण, सडक नाटकलगायत अभियान सञ्चालन गर्दै आएको छ। शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तका अनुसार गाउँ–गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्दा मानव बेचबिखन न्यूनीकरण गर्न सकिन्छ।
इलाका प्रहरी कार्यालय झलारीका निरीक्षक राजेश बस्नेतले भने, “सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्य बढाउँदा समस्या घटाउन सकिन्छ।”
उनले थपिन्, “मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय अपरिहार्य छ। न्यायिक प्रक्रिया छिटो बनाउन, तालिम र सीप विकासमार्फत रोजगारी सिर्जना गर्न, र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ।”
सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय हुन्।





