
भोजपुर – भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने ३३.५ किलोमिटर लामो भोजपुर–दिङ्ला सडक कालोपत्रे गरिने काम सुरु भएको छ। कोशी प्रदेश सरकारको रु १ अर्ब २२ करोड ३२ लाखको लागतमा सडकलाई दुई खण्डमा कालोपत्रे गर्ने योजना अघि बढाइएको हो।
पहिलो खण्ड, भोजपुर–दिङ्ला–तीनतले १७.५ किलोमिटर सडकको काम रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैयाँ लागतमा भइरहेको छ। यस सडकको सम्झौता विसं २०८० मङ्सिरमा भएको थियो र २०८२ मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार यो खण्डको भौतिक प्रगति हाल ४५ प्रतिशत छ।
दोस्रो खण्ड, भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक, रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ मा निर्माण भइरहेको छ। यस खण्डको सम्झौता विसं २०८० पुसमा भएको थियो र २०८२ पुससम्म काम सक्ने लक्ष्य राखिएको छ। हाल यो सडकको भौतिक प्रगति २० प्रतिशत पुगेको छ। दुवै सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए।
प्रमुख रेड्डीले भने, “भोजपुर–दिङ्ला सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ। यो सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडक हो। हामी सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ।”
स्थानीयहरूले सडक कालोपत्रेको काम सुरु भएपछि उत्साह बढेको बताएका छन्। षडानन्द–१० का निमा शेर्पाले भने, “सडक कालोपत्रे भएपछि कृषि उपजको बजारीकरण सहज हुनेछ र षडानन्द नगरपालिका तथा साल्पासिलिछो गाउँपालिकाका नागरिकको आवागमन सजिलो हुनेछ। वर्षातको समयमा सङ्खुवासभा घुमेर भोजपुर पुग्नु पर्ने बाध्यता पनि अन्त्य हुनेछ।”
षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले पनि यो सडक उत्तरी क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्। उनले भने, “सडक कालोपत्रे गर्ने काम गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गर्न नगरले आवश्यक भूमिका खेलिरहेको छ। काम सुरु भएपछि स्थानीयमा उत्साह देखिएको छ।”
सडकको पहिलो खण्डको निर्माणको जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीले लिएको छ।





