बागलुङमा घ्यू भण्डारणका लागि ‘कोल्ड स्टोर’ सञ्चालन



बागलुङ। जिल्लामा घ्यूलाई उचित तापक्रममा सुरक्षित भण्डारण गर्न १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

यो कोल्ड स्टोर बागलुङ दुग्ध सहकारी सङ्घले स्थापना गरेको हो, जसले जिल्लाका किसानको दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ। रु २० लाख लागतमा तयार गरिएको कोल्ड स्टोरको निर्माणमा रु १० लाख दुग्ध सहकारी सङ्घ र रु १० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा भएको हो, सङ्घका अध्यक्ष दिपक गौतमले जानकारी दिए।

सङ्घले जिल्लाका १,४०० भन्दा बढी किसानबाट दैनिक करिब ३,५०० लिटर दूध सङ्कलन, प्रशोधन र बिक्री गर्दै आएको छ। गौतमका अनुसार, दूधको माग घटबढ हुने भएकाले दूधबाट छुर्पी बनाउँदा ठूलो मात्रामा उत्पादन हुने घ्यूलाई तत्काल बजारमा बिक्री गर्न सकिँदैन। “सानो फ्रिजले पर्याप्त भण्डारण गर्न सक्दैन, त्यसैले १० टन क्षमताको कोल्ड स्टोरले ठूलो राहत दिएको छ। अहिले घ्यू माइनस डिग्रीमा सुरक्षित राखिँदै आएको छ,” उनले बताए।

हाल सङ्घले घ्यूलाई रु १,५०० प्रति किलो दरमा बिक्री गर्दै आएको छ। दुग्धजन्य उत्पादनमा पनीर, छुर्पी, खुवा र घ्यू समावेश रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सङ्घले करिब ९ लाख ९२ हजार लिटर दूध खरिद गरी रु ८ करोड ९३ लाख आम्दानी गरेको छ। बागलुङ दूधमा आत्मनिर्भर जिल्ला मानिन्छ र यहाँ २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूध सङ्कलन र बजारीकरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्