पाल्पामा ब्लड बैङ्क सुरु



पाल्पा। जिल्लाको तानसेनमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाद्वारा ब्लड बैङ्क सञ्चालनमा आएको छ। ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान अन्तर्गत आजदेखि ब्लड बैङ्क सेवा सुरु गरिएको हो।

शाखाका सभापति बाबुराम कार्कीका अनुसार चार ठूला अस्पताल र एक डायलाइसिस सेन्टरको लागि रगत अभाव पूर्ति गर्ने उद्देश्यले ब्लड बैङ्क स्थापना गरिएको हो। उनले भने, “अत्यावश्यक अवस्थामा रगत अभावका कारण बिरामी र परिवारले कठिनाइ भोग्नु परेको थियो। अब यो कार्यक्रमले रगत अभावबाट हुने मृत्यु रोक्न मद्दत गर्नेछ।”

मानिसको जीवन बचाउन सबैलाई रक्तदानमा सक्रिय सहभागी हुन अध्यक्ष कार्कीले अनुरोध गरे। जिल्लामा हरेक महिना ३००–३५० प्वाइन्ट रगत र वार्षिक रूपमा ४,५०० प्वाइन्ट रगतको आवश्यकता पर्ने जानकारी उनले दिए।

शाखाका उपसभापति भीमसेन कार्कीले भने कि दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन बिरामीको लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भएकोले आधुनिक ब्लड बैङ्क स्थापना गरिएको हो।

ब्लड बैङ्क सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु ५० लाख बराबरको अत्याधुनिक उपकरण उपलब्ध गराएको छ। यससँगै रामपुर नगरपालिकाले रु १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाले रु ५ लाख बराबरको एसी र फ्रिज, र रिब्दीकोट गाउँपालिकाले रु ५ लाख बराबरको ब्याट्री सहयोग गरेका छन्।

रेडक्रसले विसं २०८० चैतदेखि शुरु गरेको साझा अभियानमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै देश–विदेशमा रहेका पाल्पालीले आर्थिक सहयोग गरेका थिए। ब्लड बैङ्क भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले गत वर्ष रु १.५ करोड र चालु आर्थिक वर्षमा रु ३ करोड विनियोजन गरेको थियो।

शाखाका कोषाध्यक्ष सन्तोष खनालका अनुसार नियमित सञ्चालन र खर्च व्यवस्थापनका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट हालसम्म रु ६८ लाख सङ्कलन भइसकेको छ र रकम सङ्कलन अभियान जारी छ।

शाखाका मन्त्री केशवराज नेपालले भने कि ब्लड बैङ्क सञ्चालनपछि आउने चुनौती र कठिनाइ समाधान गर्न नियमित रक्तदान कार्यक्रम, जनचेतनामूलक अभियान, र पालिकास्तरमा रक्तदाता रोष्टर तयार पारिनेछ।

अस्थायी रूपमा शाखा कार्यालयमा सञ्चालन भइरहेको ब्लड बैङ्कको स्थायी भवन तानसेन नगरपालिका भुसालडाँडामा निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले जानकारी दिए।

ब्लड बैङ्क शुभारम्भ कार्यक्रममा पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको सामाजिक महत्त्व र जीवनरक्षामा योगदानबारे जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “रक्तदान केवल जीवन जोगाउने मात्र होइन, सामाजिक एकता र सहकार्य पनि बलियो बनाउँछ।”

रेडक्रस पाल्पाका स्वास्थ्य संयोजक डा. झपेन्द्र ढकालले भने कि ब्लड बैङ्क सञ्चालन भएपछि पाल्पामा आकस्मिक अवस्थामा रगतको लागि दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ र स्वास्थ्य सेवामा गुणात्मक सुधार हुनेछ।

प्रतिक्रिया दिनुहोस्