खेलकुद सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधार हो : अध्यक्ष दाहाल |



ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रलाई सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको बताएका छन् ।

शुक्रबार कीर्तिपुरमा सम्पन्न अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्र आएपछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको र यसको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको स्मरण गराए ।

उनले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमै गाउँदेखि केन्द्रसम्म खेललाई प्राथमिकतामा राखी हजारौँ खेलाडी उत्पादन गर्ने वातावरण बनाइएको बताए । अघिल्लो शासन प्रणालीमा खेलकुदलाई निरङ्कुशता र पञ्चायती व्यवस्थाको संरक्षणका लागि प्रयोग गरिए पनि गणतन्त्र स्थापनापछि यसलाई सभ्य समाज, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय भाइचाराका लागि उपयोग गरिएको प्रष्ट पारे ।

नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा जितेका पदक र सफलताका उदाहरण प्रस्तुत गर्दै अध्यक्ष दाहालले राज्यले खेल क्षेत्रमा अझ बढी प्राथमिकता दिएमा गुणात्मक प्रगति सम्भव हुने धारणा व्यक्त गरे ।

सम्मेलनको सफलताको शुभकामना दिँदै उनले अखिल नेपाल खेलकुद महासङ्घ र माओवादी केन्द्रले खेल क्षेत्र सुदृढ बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै, माओवादी नेतृत्वमै खेल क्षेत्रमा वास्तविक सुधार सम्भव भएको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्