
सङ्खुवासभा । जिल्लाको खाँदबारीस्थित जिल्ला कारागारमा क्षमता ५५ मात्र भए पनि हाल १३९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक जीवनयापनदेखि गतिविधि सञ्चालनमा कठिनाइ भइरहेको छ ।
कारागारका प्रमुख जेलर राजन घिमिरेका अनुसार हाल कारागारमा १३१ पुरुष, आठ महिला र दुई आश्रित बालबालिका रहेका छन् । यो कारागारमा ५० पुरुष र पाँच महिलाको क्षमता रहे पनि कैदी सङ्ख्या अत्यधिक बढेपछि खानेपानी, सरसफाइ, बसोबास र शौचालय प्रयोगमा समस्या देखिएको उनले बताए ।
“पुरानो र साँगुरो भवन भएकाले कैदीबन्दीलाई खान, बस्न र दैनिक क्रियाकलाप गर्न गाह्रो भएको छ,” उनले भने, “मानवीय व्यवहार पाउनुपर्ने भए पनि आवश्यक सुविधा दिन सकिएको छैन ।”
३.५ रोपनी क्षेत्रमा फैलिएको कारागारमा थप भवन बनाउन पर्याप्त जग्गा नभएको घिमिरेले जानकारी दिए । कारागारमाथि बजार र तलतिर भिरालो जमिन भएकाले सडक विस्तार गर्न पनि असम्भव जस्तै भएको उनको भनाइ छ ।
कारागारमा पुग्न सानो भिरालो भर्याङ प्रयोग गर्नुपर्ने भएकाले विपद् आयमा कैदीबन्दीलाई उद्धार गर्न कठिन हुने घिमिरेले बताए । “आपतकालीन अवस्थामा एम्बुलेन्स, दमकल वा सुरक्षाकर्मीका गाडी पुग्न सक्ने सडकसमेत छैन,” उनले जोड दिए ।
उनले कारागारको सुधार र क्षमता विस्तारका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे ।





