गुणस्तरीय र समयमै निर्माण गर्नुस्, शान्ति–सुरक्षा सरकारको जिम्मेवारी : गृहमन्त्री लेखक |



कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले पूर्वाधार निर्माणमा गुणस्तरीयता कायम गर्दै तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् । कञ्चनपुरमा आयोजित निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले ढिलासुस्तीका कारण आयोजना लागत बढ्ने समस्या देखिएको उल्लेख गरे ।

‘निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ गृहमन्त्री लेखकले भने, ‘निर्माण क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ ।’ उनले चन्दा असुली, धम्की तथा सार्वजनिक काममा अवरोध सिर्जना गर्ने गतिविधि सहन सरकार तयार नभएको स्पष्ट पारे ।

उनका अनुसार हाल निर्माण क्षेत्रमा गुणस्तरीयता कायम नहुने र समयमै काम पूरा नहुने चुनौती प्रमुख समस्या बनेका छन् । ‘गुणस्तरीय काम भएन भने राज्यको लगानी खेर जान्छ, नागरिकले सेवा लिन पाउँदैनन्,’ उनले भने, ‘समयमै सम्पन्न नहुँदा आयोजनाको लागत २०० प्रतिशतसम्म बढ्ने अवस्था आएको छ ।’ यसमा केवल व्यवसायी मात्र दोषी नभएको उनले स्पष्ट पारे ।

गृहमन्त्री लेखकले राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि अपरिहार्य रहेको भन्दै सरकारी तथा गैरसरकारी निकाय दुवैको दक्षता बढाउनुपर्नेमा जोड दिए । उनले नीतिगत सुधार, कानुनी सुधार, सुशासन प्रवर्द्धन र दण्डहीनताको अन्त्य वर्तमान सरकारको प्राथमिकता रहेको बताए ।

‘यी सबै कुराको आधार स्थायी सरकार हो, त्यसैले दुई ठूला पार्टी मिलेर स्थायी सरकार बनेको छ,’ उनले भने, ‘अहिलेको सरकारले नीतिगत र कानुनी सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।’

सो अवसरमा उनले सरकारले निर्माण व्यवसायीहरूलाई तिर्न बाँकी करिब ३५ अर्ब रुपैयाँ भुक्तानी गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्