
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले घाइते तथा अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । यस सेवा सुरु भएपछि सडकमा दुर्घटनामा परेका, कमजोर वा रोगी जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने भएको छ ।
उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उक्त एम्बुलेन्स उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । नेपालगन्जमा छाडा चौपायाले सडक दुर्घटनामा समस्या सिर्जना गर्दै आएको उनले बताए ।
उपमहानगर प्रमुख प्रशान्त विष्टले एम्बुलेन्सको अधिकतम उपयोग गरी पशु उद्धार र व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै, एनिमल नेपालकी अध्यक्ष शोभा रायमाझीले दुर्घटनाग्रस्त, कमजोर वा रोगी जनावरलाई सुरक्षित रूपमा उपचार स्थल वा आश्रयस्थल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको बताइन् ।





