जुम्लामा किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ



जुम्ला । जुम्लाका आठ स्थानीय तहका किसानलाई यतिबेला बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउ परिपक्व भई गुलियो बनेपछि किसानले बगैँचाबाट स्याउ टिपेर बिक्री सुरु गरेका छन् ।

तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार घरमै व्यापारी आइपुग्ने भएकाले बिक्री सहज भएको छ । “घरमै प्रतिकिलो रु ६५ मा बिक्री भइरहेको छ । व्यापारीहरूले सुर्खेत र नेपालगञ्जसम्म लैजाने गरेका छन्,” उनले बताए । उनले लगाएका करिब १०० बिरुवामध्ये ५० प्रतिशतमा मात्र फल लागेको र गत वर्षभन्दा यस वर्ष उत्पादन ४० प्रतिशत कम भएको जानकारी दिए ।

हिमा गाउँपालिकाका व्यापारी प्रकाश रोकायाले अहिले पालिकाभित्रका बगैँचाबाट करिब ६०० कार्टुन स्याउ खरिद गरिएको बताए । जिल्लामा उत्पादन र निर्यातको तथ्याङ्क संकलन गर्न कृषि विकास कार्यालयले नाग्म प्रहरी चौकीलाई जिम्मा दिएको छ ।

कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार यसवर्ष करिब १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । उत्पादनमा केही कमी आए पनि यसबाट करिब रु ४५ करोड बढी आम्दानी हुने आकलन गरिएको छ ।

कार्यालयले किसान र सहकारीलाई ५० प्रतिशत अनुदानमा बिरुवा र १२ हजार ‘जुम्ला एप्पल’ लेखिएका कार्टुन वितरण गरेको छ । अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ खेती भइरहेको छ । करिब १८ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।


तरकारी खेतीबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

जुम्ला । तरकारी खेतीले जुम्लाकी महिलालाई स्वरोजगार बनाउन थालेको छ । तिला गाउँपालिका–८ जुम्लाकोटका महिलाले हाल तरकारी उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

स्थानीय शोभा बस्नेतका अनुसार विगतमा तरकारी खेतीमा रुचि नदेखाउने महिलाले सीपमूलक तालिम र प्राविधिक ज्ञान पाएपछि तरकारी खेतीप्रति आकर्षण बढाएका छन् । वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले सञ्चालन गरेको परियोजनाले महिलाको आयआर्जनमा सुधार ल्याएको हो ।

“गाउँमै जलवायु मैत्री कृषक पाठशाला सञ्चालन भएपछि हामी आत्मनिर्भर हुन थालेका छौँ । गत आवमा मात्रै मौसमी र बेमौसमी तरकारीबाट रु एक लाख आम्दानी भएको थियो,” बस्नेतले बताइन् ।

महिला कृषकहरूले उत्पादन गरेको गोलभेँडा रारासेरी, नाग्म र सदरमुकाम खलङ्गामा पुग्ने गरेको छ । गाउँमै प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको स्थानीय लक्ष्मी रावतले जानकारी दिइन् । किर्डाकले कृषक समूहलाई गड्यौला मल, झोल मल, प्लास्टिक हाउस, पानी पोखरीजस्ता आधुनिक प्रविधिमा तालिम दिएको छ ।

तर, तरकारी ढुवानीका लागि यातायात सुविधा अभाव हुँदा बजारसम्म पुर्‍याउन कठिनाइ भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्