होम्ताङवासी बाँसको नाङ्लो बिक्रीबाट आत्मनिर्भर



भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङका स्थानीयले परम्परागत रूपमा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । पुर्ख्यौली पेशा मानिने यो काम अहिले यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ ।

स्थानीयले घरमै बसेर नाङ्लो बुन्ने र तयार भएपछि ठेकेदारमार्फत बिक्री गर्ने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिक महिनामा उत्पादन बढ्ने गरेको छ । दसैँ, तिहार र छठजस्ता चाडपर्वका अवसरमा तराई क्षेत्रमा माग उच्च हुने भएकाले उत्पादन र आम्दानी दुवै बढ्ने स्थानीयको अनुभव छ ।

महिला–पुरुष दुवै नाङ्लो बुनेर घरखर्च धान्ने गरेका छन् । स्थानीय पूजा राईका अनुसार उनको परिवार मात्रले मासिक करिब १५० वटा नाङ्लो बुन्छ, जसको प्रतिगोटा रु ११० देखि रु १२० मा बिक्री हुन्छ । यसैबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् ।

होम्ताङकै लङ्खा, विथारा, लुम्बुवा र सोयागाउँका झण्डै ४१५ घरपरिवार व्यावसायिक रूपमा नाङ्लो बुनेर जीवनयापन गर्दै आएका छन् । स्थानीय व्यवसायी राजेन्द्र राईका अनुसार यहाँ उत्पादन हुने नाङ्लो भारतसहित पश्चिम नेपालका विभिन्न स्थानमा पठाइन्छ ।

व्यवसायी प्रकाश राईले यस पेशाले गाउँमा ठोस आर्थिक योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यसलाई अझ व्यावसायिक बनाउन राज्यको सहयोग र प्रोत्साहन आवश्यक भएको बताए । उनका अनुसार गाउँमा आयआर्जन बढाउन स्थानीय सरकार र सरोकारवाला निकायले दीर्घकालीन कार्यक्रम ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्