स्वास्थ्य बिमामा आबद्ध भए मात्र कडा रोगको सुविधा |



काठमाडौँ । आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बिमामा आवद्ध भएका विपन्न नागरिकहरूले मात्रै आठ प्रकारका कडा रोगको एकीकृत उपचार सुविधा पाउने भएका छन् । हालसम्म मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले छुट्टाछुट्टै कार्यक्रममार्फत सुविधा पाउँदै आएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउने निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागेको हो । यसका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकाअनुसार अब उपचारको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुविधा लिन चाहने सबै विपन्न नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य रूपमा आवद्ध हुन आग्रह गरेका छन् । उनले भने, “हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर रहोस् भनेर आउँदो असोज मसान्तभित्र बिमामा दर्ता गरिसक्न अनुरोध गरेका छौँ । यसले छरिएका कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्नेछ ।”

यसैक्रममा हाल सेवा लिइरहेका बिरामीलाई असोज मसान्तभित्रै बिमामा दर्ता गराउने व्यवस्था मिलाउन मन्त्रालयले स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई निर्देशन पत्रसमेत पठाएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्