
बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले ७०५ पशुको बीमा गराएका छन् । जिल्ला सहकारी सङ्घसँग आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका पशुको बीमा गरिएको सङ्घका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
गत वर्ष किसानले बीमा प्रिमियमबापत रु ४ लाख ८४ हजार ५०० तिरेका थिए भने सरकारले अनुदानस्वरूप रु १९ लाख ३८ हजार उपलब्ध गराएको थियो । यसरी जम्मा भएको रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षा उपसमितिमा दाखिला गरिएको छ । चालु आर्थिक वर्षमा मात्र पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार सङ्कलन भएको पनि उनले बताए ।
सहकारी सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीमार्फत एक हजार ५०० भन्दा बढी किसानसँग दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन र बजार आपूर्ति गर्दै आएको छ ।





