
कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक र गौरवमय हुडकेली लोकनृत्य पुस्तान्तरण नहुँदा लोप हुने सङ्घारमा पुगेको छ । वीरपात्र र वीराङ्गनाका गीति–कथामा आधारित यो नृत्य पुरानो पुस्तासँगै हराउँदै गएको छ ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५० वर्षीय गङ्गाराम दमाई हुडकेलीमा निपूण भए पनि अहिले यसको माग नभएकोप्रति चिन्तित छन् । उनले बाजेबाट हुडका बजाउने र वीरकथा गीतमार्फत प्रस्तुत गर्ने कला सिकेका थिए । उनका अनुसार अतीतमा विवाह, व्रतबन्ध, धार्मिक कार्यलगायत शुभअवसरमा हुडकेलीको विशेष माग हुन्थ्यो, तर अहिले वर्षमा एक पटक पनि बोलाउने चलन हराइसकेको छ ।
डडेल्धुरामा जन्मिएका गङ्गाराम २५ वर्षअघि तराई आएपछि पनि यो कला साथमै ल्याए तर पेशाकै रूपमा धान्न नसकिएको अनुभव सुनाउँछन् । पहिले हुनेखाने घरानाले हुडकेली प्रदर्शनबापत कलाकारलाई चामल, खसी, बोका र भाँडाकुँडा दिने गर्थे, तर आधुनिक रहनसहन र साउण्ड सिस्टमको आकर्षणसँगै परम्परा हराउँदै गएको छ ।
लोककलाका जानकार गोरे दमाईका अनुसार सबैले हुडकेली जोगाउनुपर्ने कुरा गरे पनि सिक्ने वा अभ्यास गर्ने चासो कसैले नदेखाउँदा यो नृत्य लोप हुने अवस्थामा पुगेको हो । पूर्वजनप्रतिनिधि टेकबहादुर हमालले यस नृत्यलाई युद्धमा सैनिकको मनोबल उच्च राख्ने साधनका रूपमा प्रयोग गरिएको स्मरण गराउँदै, वीरगाथा, ऐतिहासिक घटना र युद्धकौशल गीतमार्फत प्रस्तुत गर्ने विशेषता भएको बताए ।
हुडकेलीमा नर्तकले तलबार–ढालको करतब, हुडका–दमाहाको ताल, घुँघरु, चौँरीगाईको पुच्छर र परम्परागत पोशाकसहित प्रदर्शन गर्ने परम्परा छ । परापूर्वकालमा राजा र सैन्य विजयसंगै खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, जसलाई डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ ।
दार्चुलादेखि कञ्चनपुरसम्म र भारतको कुमाउँ–गढवालसम्म हुडकेलीको प्रचलन रहँदै आएको छ । जानकार मानसिं भण्डारीका अनुसार यो नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा थियो र कुमाउँ क्षेत्रबाट नेपाल भित्रिएको प्रमाण पाइन्छ । यसमा वीरपात्र शोभी रावत, काला भण्डारी, रती रावललगायतका कथा गाइन्छन् ।
नृत्यलाई आकर्षक बनाउन कलाकारले कठिन कलाकौशल समेत देखाउँछन्, जस्तै उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कला । यसले हुडकेलीलाई केवल मनोरञ्जन नभई ऐतिहासिक स्मृति र वीरगाथा जोगाउने साधन बनाएको छ ।
“यो दमाई समुदायले जगेर्ना गर्दै आएको कला हो, तर नयाँ पुस्ताले सिक्न रुचाएन भने केही वर्षमै हुडकेली किताबका पानामा मात्र सीमित हुनेछ,” भीम दमाई भन्छन् । संस्कृतिविद्हरूका अनुसार स्थानीय तह, समाजसेवी संस्था र संस्कृति संरक्षण निकायले तत्कालै पहल नगरे सुदूरपश्चिमको यो अमूल्य सम्पदा लोप हुने खतरा बढ्दै गएको छ ।





