
मनाङ । मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको निरीक्षण गर्दै सिडिओ पौडेलले निर्वाचन सुरक्षामा संलग्न सबै निकाय एकजुट भएर दत्तचित्तपूर्वक लाग्नुपर्नेमा जोड दिएका हुन् । उनले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागूपदार्थ न्यूनीकरण, सूचना प्रविधिको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा पनि जोड दिनुपर्ने बताएका छन् ।
निरीक्षण क्रममा पौडेलले प्रहरी प्रशासन, अनुसन्धान, सञ्चार, महिला तथा बालबालिका, योजना शाखा, हिरासत कक्ष, प्रहरी ब्यारेक लगायतका संरचनाबारे जानकारी लिएका थिए । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, ट्राफिक तथा निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिएका थिए ।
त्यसैगरी, सिडिओ पौडेलले सशस्त्र प्रहरी गुल्मको प्रशासन, तालिम, सञ्चार, सीमा सुरक्षासम्बन्धी चुनौती र भविष्यका योजनाबारे जानकारी लिँदै सशस्त्र प्रहरीको कार्य अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको मूल्याङ्कन गरे । उनले उपनिर्वाचन सुरक्षामा दुवै सुरक्षावाहिनीले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।





