
महोत्तरी । महोत्तरीको उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको संख्या उच्च दरमा बढ्दै गएको छ । २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको अवधिमा मात्र यहाँ १४५ जना नयाँ क्षयरोगी पहिचान भएका छन् ।
नगर कार्यपालिकाको स्वास्थ्य शाखाले बस्तीस्तरमा सञ्चालन गरेको जाँच अभियानमार्फत पहिचान गरिएका तीमध्ये सबैभन्दा बढी बिरामी वडा नं ८ मा भेटिएका छन् । स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानका अनुसार वडा नं ८ को हाथीलेट बस्तीमा मात्रै २२ जना नयाँ संक्रमित फेला परेका छन् ।
हालै वडा नं ७ र ११ मा तीन जनाको मृत्यु भएपछि नगरपालिकाले सघन स्क्रिनिङ अभियान सुरु गरेको हो । बर्दिबास–८ मा सञ्चालन गरिएको शिविरमा अत्याधुनिक प्रविधिबाट गरिएको खकार तथा रगत परीक्षणमा सहभागी १२३ जनामध्ये २८ जनामा क्षयरोग संक्रमणको आशंका गरिएको छ । ती सबैलाई थप परीक्षणका लागि गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखाले संयुक्त रूपमा सञ्चालन गरेका हुन् ।
स्वास्थ्यकर्मीका अनुसार हात्तीलेट क्षेत्रमा क्षयरोग बढी देखिनुमा घरेलु मदिरा सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभाव प्रमुख कारण हुनसक्छ । त्यहाँ मुख्यतः मगर र तामाङ समुदायको सघन बसोबास रहेको छ ।
नेपाल सरकारले सन् २०५० भित्र मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको भए पनि नयाँ संक्रमितहरूको बढ्दो संख्या यस लक्ष्यप्रति चुनौती बनेको स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि, शिविरमार्फत रोग पहिचान भएको र संक्रमितले समयमै उपचार पाउने अवसर पाउनु भने सकारात्मक पक्ष भएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।





