
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी विश्वास, दिगोपन र ऐतिहासिक मित्रतामा आधारित रहेको बताएकी छन् ।
संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकप्टर) हस्तान्तरण समारोहमा बोल्दै मन्त्री राणाले सो सहयोग नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको प्रतीक भएको प्रष्ट पारिन् ।
उनले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना र क्षमता अभिवृद्धिमा अमेरिका नेपालका लागि भरपर्दो विकास साझेदार बनेको उल्लेख गरिन् ।
नेपाल–अमेरिका मित्रता शान्ति, स्थायित्व र मानव सेवामा केन्द्रित रहेको बताउँदै उनले अमेरिकी सरकार र जनतालाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् ।
सो अवसरमा मन्त्री राणाले निरन्तर समर्पण, अनुशासन, राष्ट्रियता र विश्वशान्तिप्रतिको अटुट प्रतिबद्धताप्रति नेपाली सेनाको प्रशंसा गरिन् । समारोहमा परराष्ट्रमन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर. थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए ।
स्काइ ट्रक विपद् उद्धार, राहत कार्य तथा एयर एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।





