उखु किसानलाई अनुदान रकम वितरण सुरु |



काठमाडौँ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदान रकम निकासा गरी वितरण सुरु गरेको छ । करिब दुई करोड १६ लाख क्विन्टल उखु चिनी उद्योगमा आपूर्ति गरेका किसानलाई कुल करिब ७५ करोड रुपैयाँ अनुदान पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानले प्रतिक्विन्टल उखुमा उद्योगबाट रु ५८५ प्राप्त गर्ने व्यवस्था छ भने सरकारले अतिरिक्त रु ३० अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यसअनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको छ । कतिपय किसानले रकम भुक्तानी पाउन थालेका उनले जानकारी दिए ।

अघिल्लो वर्ष किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान दिइए पनि बजेट अभावका कारण यसपटक आधा घटाएर रु ३५ मात्रै गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिक्विन्टल रु ३५ अनुदान दिने तय भए पनि प्राविधिक कारणले रकम निकासामा ढिलाइ भएको हो ।

किसानले भने समयमै अनुदान वितरण गर्नुपर्ने र कटौती नगर्नुपर्ने माग गर्दै आएका थिए । सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीसहितका जिल्लामा व्यावसायिक उखुखेती हुने गरेको छ । सरकारले किसानलाई प्रोत्साहित गर्दै उत्पादन वृद्धिको लक्ष्यका साथ अनुदान उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्