
सुदूरपश्चिम । परम्परागत गीत, नृत्य र सांस्कृतिक उत्साहसँगै सुदूरपश्चिमका गाउँबस्ती अहिले गौरा पर्वको रौनकमा डुबेका छन् । धनगढीस्थित गौरा घरमा दैनिक भेला हुने महिलाले डोटेली भाषामा प्रस्तुत गर्ने ‘मसुरदानी’ गीत गाउँदै वातावरण झन् उत्साहमय बनेको छ ।

समूहमा गोलबन्द भई प्रस्तुत गरिने यो गीतमा विवाहिता छोरीले माइतीतर्फ देखाउने माया, आशा र अपेक्षाको अभिव्यक्ति पाइन्छ । दर्शकसमेत गीतको तालमा रमाउँदै खेल परिसर खचाखच हुने गरेको छ । स्थानीय संस्कृतिविद् पद्मादेवी भट्टका अनुसार ‘मसुरदानी’ गीत सुदूरपश्चिममा पुस्तौंदेखि लोकप्रिय छ ।
यसैबीच, अर्को समूहमा महिला–पुरुषबीच दोहोरी शैलीमा देउडा गीत गाइँदा सवाल–जवाफले माहोल झन् रोचक बनेको छ । कतिपय देउडा खेलमा सामाजिक विकृति, विसङ्गति र कुशासनविरुद्ध तिखो व्यङ्ग गरिँदा, कतिपयमा देवी–देवताको महिमा वर्णन गरिन्छ । गीतकार सागर बोहराले चैत धमारीजस्ता गौरा गीतले देवी–देवताको शक्ति र महत्वलाई दर्शाउने बताए ।
गौरापर्वमा बज्ने चैत, धमारी, फागलगायतका खेलहरूले इष्टदेव–कूलदेवको महिमा गाउने मात्र नभई समाज सुधारमा पनि योगदान दिने गरेको जानकार पुष्पराज पाण्डे बताउँछन् । यिनै कारणले सुदूरका गाउँमा कतिपय स्थानमा गौरा खेल १०–१५ दिनसम्म निरन्तर खेलिने परम्परा छ ।
गौरादेवी र महेश्वर (शिव)को पूजाआजा सकेपछि महिलाहरू मन्दिर वा गौरा घरमा गीत खेल्ने परम्परा रहेको छ । सप्तमीका दिन व्रतालु महिलाले सामूहिक रूपमा खेतमा गएर बिरुवाबाट गौराको प्रतिमा तयार गरी माङ्गल गीत र धार्मिक अनुष्ठान गर्दै गौरा घरमा भित्र्याउँछन् । गौरादेवीको पूजाले पतिका दीर्घायु र घरमा सुख–शान्ति ल्याउँछ भन्ने विश्वास पाइन्छ ।
यसै पर्वदेखि विवाहिता महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म घाँटीमा लगाइने ‘दुब–धागो’ धारण गर्ने परम्परा पनि छ । अनुकूल दिनमा विसर्जन गरी पर्व समापन गरिन्छ ।
गौरापर्वको उत्पत्तिसम्बन्धी विभिन्न आख्यान छन् । पौराणिक कथनअनुसार, पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर व्रत गरेकी थिइन् र सफलतापूर्वक मनोकामना पूरा भएपछि यही सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । त्यस्तै, देवी भागवत पुराणअनुसार, एक ब्राह्मणीले शिव–पार्वतीको कठोर पूजाबाट तेजिलो पुत्र पाएकी थिइन्, जसपछि गौरालाई सर्वशक्तिमान देवीको रूपमा पूजिने परम्परा सुरु भएको हो ।
तर पछिल्ला वर्षमा देवी–देवताको गाथा गाउने मौलिक गौरा गीत पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको छ । यसको विकल्पमा देउडाको वर्चश्व बढ्दै गएको देखिन्छ ।





