
काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ६३औँ स्थापना दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सन् १९६३ (२०२० साल) मा स्थापना भएको नेपाल रेडक्रस हाल देशको सबैभन्दा ठूलो मानवीय संस्था बनेको छ, जसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक संलग्न छन् ।
नेरेसोका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीका अनुसार सोसाइटीको संगठनात्मक संरचना सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कलमार्फत विस्तार गरिएको छ ।
‘म सेवा गर्छु’ भन्ने मूलमन्त्रसहित नेपाल रेडक्रसले सरकारको सहकार्यमा विपद् व्यवस्थापन, सामुदायिक विकास, स्वास्थ्य सेवा, रक्तसञ्चार, लैङ्गिक समानता तथा समावेशीकरण, युवा विकास, मानवीय मूल्य प्रवद्र्धनलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।
गत वर्ष मात्र बाढी, पहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४,९०६ परिवारलाई राहत सामग्री वितरण गरिएको थियो । त्यस्तै, पूर्वतयारी, पुनर्लाभ र जीविकोपार्जनका लागि ५,०३३ परिवारलाई झन्डै रु १२ करोड २४ लाख नगद सहयोग प्रदान गरिएको छ ।
आपतकालीन तयारीका लागि १ केन्द्रीय, ६ प्रदेशस्तरीय, ५ उपक्षेत्रीय र सबै जिल्ला शाखामा उद्धार तथा राहत सामग्रीको भण्डारण गरिएको छ । मधेसमा खडेरी र पर्सामा हैजाको प्रकोप देखिँदा स्वच्छ खानेपानी, साबुन वितरण, आपतकालीन शौचालय निर्माण र सरसफाइ गतिविधिमा सयौं स्वयंसेवक परिचालन गरिएको छ ।
रगत संकलन तथा आपूर्ति क्षेत्रमा, नेपाल रेडक्रसले गत वर्ष २ लाख ९४ हजार ८४८ युनिट रगत संकलन गरी ४ लाखभन्दा बढी बिरामीलाई उपलब्ध गराएको छ । थाइ रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवनबाट हाल सेवा दिइँदैछ ।
एम्बुलेन्स सेवामा ६५ शाखा तथा सर्कलमार्फत सञ्चालनमा रहेका २४२ एम्बुलेन्सले एक वर्षमा करिब ८६ हजार बिरामीलाई सेवा पुर्याएका छन् । प्राथमिक उपचारमार्फत ३,०१२ जना प्रत्यक्ष लाभान्वित भएका छन् भने आँखा अस्पताल र सामुदायिक केन्द्रमार्फत २ लाख ९५ हजारभन्दा बढीले सेवा लिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रसका सेवामूलक तथा विकासमूलक गतिविधि सफल बनाउन योगदान दिने स्वयंसेवक, कर्मचारी, सरकारका सबै तह, साझेदार निकाय, संयुक्त राष्ट्रसंघीय संस्था, सहयोगी निकाय र सञ्चारकर्मीप्रति ६३औँ स्थापना दिवसका अवसरमा आभार प्रकट गर्दछौँ । नेपाल रेडक्रसको सेवामूलक यात्रामा निरन्तर साथ र सहयोग पाइनेमा हामी विश्वस्त छौँ ।”





