
नारायणगढ। मुलुकको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहामा अहिले दुई विशेष आकर्षण बनेका छन्—गैँडाका दुई बच्चा, ‘राम’ र ‘देव’। सौराह वरपर घुम्दै मानिससँग सहज घुलमिल गर्ने यी गैँडा वास्तवमा घाइते अवस्थामा उद्धार गरिएका हुन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा उपचार र पालनपोषण भइरहेको यी बच्चा गैँडामध्ये रामलाई २०८० असार १ गते सौराहकै बाघमाराबाट र देवलाई जेठ ३० गते भरतपुरको देवनगरबाट उद्धार गरिएको थियो। दुवैलाई बाघको आक्रमणबाट गम्भीर घाइते अवस्थामा भेटिएको संरक्षण अधिकृत अनिल प्रसाईँले जानकारी दिए। उद्धारका बेला उनीहरू केवल १५–२० दिनका मात्र थिए।
रामको देब्रे खुट्टा भाँचिएको थियो भने देवका चारै खुट्टाका हाड भाँचिएका थिए। सुरुमा बच्ने सम्भावना न्यून मानिए पनि संरक्षण केन्द्रमा गरिएको उपचार र माया–सहयोगका कारण अहिले उनीहरूको अवस्था निकै सुधारिएको छ।
केन्द्रका चिकित्सक डा. अमिर सडौलाका अनुसार यहाँ ल्याइएका करिब ७० प्रतिशत बच्चा गैँडा बाघको आक्रमणबाट घाइते हुन्छन्। यहाँ उनीहरूको उपचार मानिस सरह गरिन्छ। गैँडाको स्वभाव प्रतिरोधात्मक भएकाले सामान्यतया ती छिट्टै निको हुने गर्छन्।
यसअघि पनि केन्द्रले उद्धार गरेका बच्चा गैँडामध्ये केहीलाई प्राकृतिक जंगलमा पुनःस्थापित गरिएको छ भने केहीलाई उपहारस्वरूप अन्य मुलुक पठाइएको छ। पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला काठमाडौँ चिडियाखानामा, ब्युटी र जङ्गेललाई अस्ट्रियाको भियना चिडियाखानामा र सोल्टीलाई चीनको शाङ्घाई चिडियाखानामा पठाइएको थियो।
पछिल्ला चार दशकमा कोषले २० वटा बच्चा गैँडा उद्धार गरेकोमा १३ जीवित रहेका छन्। वयस्क भएपछि यिनको व्यवस्थापन गरिने अधिकृत प्रसाईँले बताए।
हाल केन्द्रमा हुर्काइएका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज र सौराह वरपर घुम्ने भएकाले पर्यटकका लागि आकर्षण बनेका छन्। उनीहरूको दैनिकीमा स्याहारकर्मी लालबहादुर महतराको विशेष योगदान छ। उनले आफ्नै सन्तानझैँ माया गरेर नियमित दूध, मकैको कुँडो र अन्य आहार खुवाउने गरेका छन्।
डा. सडौलाका अनुसार गैँडाका बच्चाले सामान्य गाई–भैँसीको दूध पचाउन सक्दैनन्। त्यसैले सुरुमा ल्याक्टोजिन दूध दिइन्छ र उमेर बढ्दै जाँदा मात्र अन्य आहार थपिन्छ।
प्राकृतिक जीवनशैली सिक्न माउको साथ आवश्यक भए पनि उद्धार गरिएका यी बच्चा मानव संरक्षणमै हुर्कनुपर्ने भएकाले जंगलमा घुलमिल हुन कठिन हुने प्रसाईँले बताए। त्यसैले भविष्यमा पुनःस्थापना वा व्यवस्थापन गर्दा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।





