बर्डफ्लु संक्रमणको उच्च जोखिम, सीमाक्षेत्रमा कुखुराजन्य पदार्थ आयात रोक |




बैतडी । भारतको उत्तराखण्ड राज्यका विभिन्न जिल्लामा बर्डफ्लु संक्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तका अनुसार बर्डफ्लु भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गरिएको छ । विशेषगरी बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा संक्रमण फैलिएको पुष्टि भएपछि नेपाल–भारत सीमा जोडिएका क्षेत्रमा निगरानी बढाइएको हो ।

भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रको निर्देशनअनुसार दुबै पालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ आयातमा पूर्ण प्रतिबन्ध लगाएका छन् । सूचनाको अवज्ञा गरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत पालिकाले दिएका छन् ।

बर्डफ्लु कुखुरा तथा अन्य पक्षीबाट सर्ने अति संक्रामक रोग हो । यसबाट संक्रमित मानिसमा उच्च ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा कठिनाइ हुने लक्षण देखापर्छन् । संक्रमण गम्भीर भएमा निमोनिया र श्वासप्रश्वासमा जटिलता उत्पन्न भई मृत्युको जोखिमसमेत रहन्छ ।

प्रतिक्रिया दिनुहोस्